निष्ठावान् र कर्तव्यनिष्ठ नागरिकको धर्म, कर्तव्य, जिम्मेवारी र नैतिक सदाचार
(क) निष्ठावान् शब्दको अर्थ बुझ्नु भन्दा पहिले निष्ठा शब्दको अर्थ बुझ्न आवश्यक हुन्छ ।
(१) नि उपसर्ग पूर्वमा रहने स्था धातु देखि कः प्रत्यय भएर स्त्रीत्व विवक्षमा टाप् प्रत्यय भएपछि निष्ठा शब्द निष्पन्न हुन्छ । जसको अर्थ हो नितरां तिष्ठतीति निष्ठा अर्थात् आफ्नो कल्याण गर्ने शास्त्रोक्त कुरा आफुमा प्रवेश गराएर आफ्नो सिद्धान्तमा दृढ हुनु नै निष्ठा हो ।
(२) निष्ठा अस्य अस्तीति निष्ठावान् अर्थात् जसमा निष्ठा छ त्यो नै निष्ठावान् हो र नैष्ठिक हो । (निष्ठा +मतुप्)
(३) पाश्चात्य शिक्षादीक्षाको फलस्वरुप जति विजातीय चीजहरु हाम्रो देशभित्र पसेका छन् ती मध्ये नास्तिकता पनि एक हो । जसले निष्ठा भन्ने शब्दको अर्थलाई समाप्त पार्दै छ ।
(४) नास्तिक शब्दको अर्थ संस्कृत व्याकरणमा यसरी खुलाईएको छ – नास्ति परलोक ईश्वरो वा इतिमतिर्यस्य नास्तिकः । अर्थात् जसले परलोक र ईश्वरको अस्तित्व स्वीकार्दैन त्यो नै नास्तिक हो ।
(५) मनुस्मृतिमा नास्तिकको परिभाषा यसरी दिईएको छ ः–
योऽवमन्येत ते मूले हेतुशास्त्राश्चयाद्विजः ।
स साधुभिर्वहिष्कार्यो नास्तिको वेदनिन्दकः ।। मनुस्मृति २÷११
अर्थात् जसले धर्मको मूलग्रन्थ वेद र स्मृति यी दुबैको अपमान गर्दछ, त्यस्तो व्यक्तिलाई सज्जनहरुले वहिष्कार गर्नुपर्दछ । किनकि त्यो वेदलाई निन्दा गर्ने नास्तिक हो ।
(६) धेरैजसो मानिसहरु पश्चिमा संस्कृतिको भ्रममा परेर ईश्वर, आत्मा, धर्म, कर्मवाद, पुनर्जन्म, देवीदेवता, स्वर्गनरकादिका कुराहरुलाई केवल ढोँग र भ्रमोत्पादक ठान्दछन््् । यस प्रकरको धार्मिक उपेक्षाको छाप यतिधेरै बढ्दै गइरहेको छ कि मानिसहरु प्राचीन ग्रन्थहरुको पाठ गर्न विद्वानहरुको कुरा सुन्न, उनिहरुसँग धार्मिक विषयमा प्रश्न गर्न र धार्मिक चिन्तन मनन गर्न समेत चाहादैनन् ।
(७) जुन शास्त्रीय ज्ञानले हामीलाई निष्ठावान् बनाउँथ्यो आज तिनै शास्त्रहरुको (वेद, स्मृति, पुराण आदि)को बारेमा विधर्मिहरुले भ्रम फैलाईरहेका छन् । जसको कारण सोझासाझा जनतामा धार्मिक शास्त्रहरु प्रति दिनानुदिन आस्था घट्दो छ । उदाहणको लागि अमुक विधर्मिहरुले फुल किन टिपेर चढाउँछौ, त्यो पाप हो फूलको फूल्ने अधिकारको हनन हो त्यसैले तिमीहरुको पूmलचढाउँने धर्म नै गलत हो भनेर उपदेश दिँदै हिड्छन् । तर तिनीहरुलाई फूल किन चढाईन्छ भन्ने कुराको लेशमात्र पनि ज्ञान छैन ।
(८) हाम्रो धार्मिक आस्था अनुसार पष्पं सौमनस्यमस्तु अर्थात् मेरो मन फूलजस्तै फूलिरहोस् वा प्रशन्न भइरहोस् ।
(९) लक्ष्मीर्वसति पुष्पेषु लक्ष्मीर्वसति पुष्करे ।
लक्ष्मीर्वसति गोष्ठेषु सौमनस्यं ददातु मे ।। श्राद्धविधिः
अर्थात् ती लक्ष्मी कमल आदि पुष्पमा पुष्प फुल्ने पोखरीमा, गाईको गोठमा बस्नुहुन्छ, त्यस्ती लक्ष्मीजीले पुष्प समर्पण गर्दा मेरो मनलाई सुमन बनाईदिनुहोस् ।
(१०) हाम्रा धर्मशास्त्रानुसार फूललाई मनसँग तुलना गरिएको छ । त्यसैले मन अशान्त भयो भने पुष्प वाटिकामा बसेर पुष्प सौन्दर्य नियालिन्छ भने मन तुरुन्त प्रशन्न हुन्छ ।
फूल्दो गुलावबीच ज्ञान अनेक खुल्छन् ।
उद्यानमा बसगई सब तत्व खुल्छन् ।। लक्ष्मीप्रसाद देवकोटा
(११) धर्म केवल सदाचार न्याय तथा आचारनीति मात्र नभएर मनुष्यको अन्य प्राणीसँग, प्रकृति र ईश्वरसँग जति सम्वन्ध छ ती सबै सम्वन्धको नियमन गर्ने न्यामक तत्व हो । (श्रीअरविन्द, गीता प्रवन्ध, प्रथमभाग) ।
(ख) नैतिक सदाचारः नीतिशास्त्रहरुले बताएको सदाचारमा बस्नु नै नैतिक सदाचार हो । अरुलाई पीडा नदिनु, सत्य बोल्नु, चोरी नगर्नु, शारीरिक र मानसिक रुपमा शुद्ध रहनु, इन्द्रियहरुलाई वशमा राख्नु, दान गर्नु, दीनदुःखीमा दया गर्नु, आफुभन्दा ठूलालाई आदर गर्नु, सानालाई माया गर्नु, मातापिता र गुरुको सेवा गर्नु, र आफ्नो राष्ट्रको सेवा गर्नु इत्यादि नैतिक सदाचार हुन् ।
अहिंसा सत्यमस्तेयं शौचमिन्द्रियनिग्रहः ।
दानं दमो दया क्षान्तिः सर्वेषां धर्मसाधनम् ।। याज्ञवल्क्य स्मृति १÷१२२
धृति क्षमा दमोस्तेयं शौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।। मनुस्मृति ६÷९२
(१) उल्लेखित धर्महरुको पलना गर्नाले मानिस सुख शान्ति र सन्तोषी भई आनन्दित हुन्छ र आत्मज्ञान गर्ने तहसम्म पुग्दछ ।
(२) यी बाहेक विभिन्न कार्यमा नियुक्त भएकाहरुले पालना गर्ने नैतिक सदाचारहरुपनि शास्त्रमा उल्लेख गरिएको छ ।
(३) यदि तिमी हाकिम हौ भने आफ्नो अभियान अनुसार दयापूर्वक न्याय गर ।
(४) यदि तिमी डाक्टर, वैद्य हौ भने विरामीलाई भगवान्को स्वरुप संझी उसको लागि सेवा भावले उचित पारिश्रमिक लिएर औषधीको व्यवस्था गर ।
(५) यदि तिमी सिपाही हौ भने आफुलाई जनतारुप भगवानको सेवक ठान ।
(६) यदि तिमी नेता हौ भने आफुलाई साँचो र अनुभव सिद्ध बाटोमा मानिसहरुलाई लगाऊ, सम्प्रदाय नबनाऊ ।
(७) यदि तिमी मालिक हौ भने नोकरलाई धेरै दुःख नदेऊ र आफूलाई धेरै ठूलो नठान । धर्मविज्ञान, खप्तडबाबा ।
(८) मानिसहरुले आ–आफ्ना कर्महरुद्वारा निष्काम सेवा गर्नाले सबैको कल्यायण हुन्छ र आफ्नो पनि कल्याण हुन्छ । यही कुरा भगवान् श्रीकृष्णले गीतामा भन्नुहुन्छ ः–
स्वे स्वे कर्मन्यभीरतः संसिद्धिं लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।
यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यच्र्य सिद्धिं विन्दति मानवः ।। गीता १८÷४५–४६
अर्थात् मनुष्य आ–आफ्नो कर्मद्वारा भगवान्को पूजा गरेर परमसिद्धिरुप भगवान्लाई सहजै प्राप्त गर्न सक्छ । जो जुन कर्म गर्छ उसको जुन स्वाभाविक कर्म हो त्यो त्यही कर्म गरोस् । सबै कर्म एकैजस्तो हुन सक्दैनन् र एकै बनाउँने चेष्टा पनि नगरोस् ।
(९) अर्काको धर्म राम्रो लागे लागोस् तर त्यसलाई हामीले ग्रहण गर्दा हाम्रो कल्याण हुदैन किनकि सूर्यको प्रकाश हामीलाई प्यारो छ तर त्यसैकारण पृथ्वी छाडी उसैको नजिक जान खोजेमा हामीहरु भष्म हुन्छौँ ।
(१०) माछाहरुलाई कसैले भनोस् पानीभन्दा दूध महँगो छ तिमीहरु दूधमा बस्न हिँड भनेर कसैले भन्यो भने के तिनीहरु मान्लान् ? माछाहरु त पानीमा नै बस्न सक्छन् न कि दूधमा ।
(११) सत्य त यो हो कि हाम्रो जन्मको साथसाथै हाम्रो स्वधर्म पनि जन्मन्छ, स्वधर्म हामीलाई यति सजिलैसँग मिलेको छ कि हामीबाट स्वतः त्यसको पालना हुनुपर्ने हो तर अनेकौँ प्रकारका बौद्धिक अपराधहरुले गर्दा स्वधर्मको पालना गर्न मानिस पन्छिन थाल्यो । कहिले जमानालाई दोेष दिन्छ त कहिले कलियुगलाई गाली गर्छ । दोष छ भने रहन देऊ त्यो दोष परिवर्तन गर्छु भन्नु नाक काटेर राम्रो दखिन्छ भनेजस्तै हो । एक महान् वैज्ञानिकले भनेका छन्– गल्ती दृष्टिमा छ सृष्टिमा छै्रन ।
अतः स्वधर्मे निधनं श्रेयः परधर्माे भयावहः भनेझैँ हामीले सत्यब्रतधारी आदर्श महापुरुषहरुको जीवनलाई आफ्नो पथ प्रदर्शक बनाउँनु पर्छ ।। महाजनो येन गतः स पन्था